सिलगढी / मुलुकका ठूलठूला नेतामाथि धमाधम दुर्ववहारकाे प्रयास भैरहेको छ । पटकपटक प्रधानमन्त्री तथा मन्त्री र सांसद पद खाइरहेका नेताहरूमाथि देशका विभिन्न ठाउँमा मुक्का, जुत्ता, खाेया इतियादि प्रहार भैरहेकाे छ । यो एक फेसन जस्तै भैसक्याे भन्दा पनि फरक नपर्ला । नेपालमा अहिलेसम्म राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका व्यक्तिलाई यस्तो दुव्र्यवहार भएकाे थियाे ।
अहिलेसम्म को–को नेतामाथि भयो प्रहार ?
राष्ट्रपति रामचन्द्र पौडेल
हालका राष्ट्रपति रामचन्द्र पौडेलमाथि संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमाले सांसद गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए । सार्की त्यो बेला राष्ट्रियसभा सदस्य थिए भने पौडेलमाथि २०५१ सालमा जुत्ता प्रहार भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि आक्रमण गरेका तत्कालीन माओवादी कार्यकर्ता पदम कुँवरमाथि कुटपीट समेत भएको थियो । २०६९ मंसिर २ गते कुँवरले प्रचण्डमाथि दुर्व्यवहार गरे पनि पछि कुँवरलाई प्रचण्डले नै धरौटी तिरेर हिरासतमुक्त गराइदिएका थिए । यस्तै २०७६ फागुन १८ गते पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । जुम्लाका २२ वर्षीय नविन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तिरुवालाई पनि प्रचण्डले माफी दिएका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल
२०६७ सालमा एमालेको शीर्ष नेता रहेका झलनाथ खनालमाथि सुनसरीमा आयोजित कार्यक्रममा स्थानीय देवीप्रसाद रेग्मीले झापड प्रहार गरेका थिए । टीका लगाउने विषयमा रेग्मीले खनालमाथि हातपात गरेको बताइन्छ । भने रेग्मीलाई माफी दिन खनालले अपिल गरेका थिए । यस्तै, झलनाथ खनालमाथि काठमाडौंमा पनि एक कार्यक्रममा वक्ताको रुपमा पुगेका एक युवाले तथानाम गर्दै दुर्व्यवहार प्रयास गरेका थिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि तत्कालीन जसपाको कार्यक्रममा पोखरामा जुत्ता प्रहार गरिएको थियो ।विद्यार्थीको कार्यक्रमलाई सम्बोधन गरिरहेका भट्टराईलाई कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार गरेका थिए । त्यसो त सञ्जिवले प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन। त्यसपछि प्रहरी नियन्त्रणमा पुगेका उनलाई भट्टराईले ठूलो विषय नबनाउन अपिल नै गरेका थिए ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का
कांग्रेस उपसभापति समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्कामाथि पनि जुत्ता प्रहार भएको छ । एमाले सांसद समेत रहेकी कमला शर्माले पहिलो संविधानसभाको चुनावमा एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्या भएको र खड्काको भूमिका शंकास्पद भन्दै २०६५ जेठ १५ गते चप्पल प्रहार गरेकी थिइन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली
मेची–महाकाली पदयात्रामा रहेको एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित कार्यक्रम कोशी प्रदेश धनकुटा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि महेश राईले थप्पड हानेका हुन् । महेशले स्वागत गर्ने लाइनमै बसेर ओलीमाथि थप्पड वर्साएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
२०८० पुस ७ पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्वोधन थालेको ५ मिनेटमात्र भएको थियो । त्यही बेला दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।











