काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । खाँण नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा गत बैशाख महिनामा मुछिएर पक्राउ गरेको थिए ।
उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले रातोपाटीलाई बताए ।उनी बैशाख २७ गते पक्राउ परेका हुन् ।











