
रौतहट / आफ्नै घरमा सुतिरहेकाे अबस्थामा रहेकी १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ ।
राैतहटकाे माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार गरिएकाे हाे । मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।
गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।
सुतिरहेको अवस्थामा विवाहित युवतीको माइतीघरमा हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । उनको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।