
काठमाण्डाै / लगातारको झरी राेकिएसँगै आजदेखि माैसममा सुधार आउने भएकाे छ । गए रातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद्हरूले बताएका छन् ।
झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
आज कोशी,गण्डकी र बागमती प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो । अब झरी रोकिएसँगै किसानलाई राहत मिल्ने भएकाे छ ।
तत्काल अब लगातार झरीको सम्भावना नरहेकाले घाम लागेका बेला धान काट्न किसानलाई विज्ञको सुझाव छ । यसपालि मनसुन लम्बिएको छ । गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् गएको १५ गतेसम्म रहने भनिए पनि यसपालि लम्बिएको छ ।