एजेन्सी / समाचार एजेन्सीहरुका अनुसार सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ ।
उक्त बोर्डलाई फेसबुकको सर्वोच्च अदालतको संज्ञासमेत दिइएको छ । किनकी प्रयोगकर्ताहरुले फेसबुकको कार्यकारी निकायद्वारा गरिएका निर्णयहरुमा चित्त नबुझेमा उक्त बोर्ड समक्ष पुनरावेदन गर्न सक्नेछन् ।
फेसबुकको निरीक्षण बोर्डमा विश्वका विभिन्न देशका विविध क्षेत्रका विज्ञहरु रहेका छन् । उक्त बोर्डमा चारजना अध्यक्ष रहेका छन् । एकजना अध्यक्षको रुपमा डेनमार्कका पूर्व प्रधानमन्त्री हेली थोर्निंग स्कमिडट छन् । त्यस्तै अन्य अध्यक्षहरुमा कोलम्बियाका प्राध्यापक क्याटालिना बोटेरो मारिनो र अमेरिकी प्राध्यापकहरु जमाल ग्रीने तथा माइकल म्याककोनेल रहेका छन् । तिनैजना कानूनका प्राध्यापक हुन् ।
सदस्यहरुमा दक्षिण अफ्रिकाका मानव अधिकार अधिवक्ता आफिया आसान्तेवा आसारे केइ, अमेरिकी कानूनका प्राध्यापक एभलिन असवाद, इन्डोनेसियाली पत्रकार एन्डी बायुनी तथा ताइबानी प्राध्यापक क्याथ्रिन चेन रहेका छन् ।
त्यस्तै पाकिस्तानी वकिल तथा इन्टरनेट अधिकारवादी निघाट दाद, अमेरिकी प्राध्यापक तथा सर्वोच्च अदालतका वकिल पामेला एस कार्लान तथा यमनी पत्रकार तथा मानवअधिकारवादी तावाकोल कर्मान पनि निरीक्षण बोर्डका सदस्यका रुपमा रहेका छन् ।
त्यस्तै भारतको नेसनल ल स्कुलका उपकुलपति सुधिर कृष्णास्वामी पनि फेसबुकको ओभरसाइट बोर्डको सदस्यका रुपमा नियुक्त भएका छन् । अन्य सदस्यहरुमा केन्याली अधिवक्ता तथा मानव अधिकारवादी मैना किआइ, ब्राजिलियन वकिल रोनाल्डो लेमोस, फ्रान्सका वकिल तथा इन्टरनेट अधिकारवादी जुली ओवोनो, इजरायलको न्याय मन्त्रालयका पूर्व महानिर्देशक एमी पाल्मोर, बेलायती पत्रिका गार्जियनका पूर्व प्रधान सम्पादक एलान रसब्रिजर, युरोपेली अदालतका पूर्व उपाध्यक्ष एन्द्रास साजो, अमेरिकाको काटो इन्स्टिच्यूटका उपाध्यक्ष जोन स्याम्पल्स र अष्ट्रेलियाका कानूनका प्राध्यापक निकोलस सुजर रहेका छन् ।
आफ्ना पोष्टहरु फेसबुकले हटाएको र त्यस्तो कार्य आफूलाई चित्त नबुझेको खण्डमा प्रयोगकर्ताहरुले फेसबुकको उक्त सर्वोच्च निगरानी निकायसमक्ष अपिल गर्न सक्ने र उक्त बोर्डले उजुरीहरुमाथि अध्ययन गरी अन्तिम फैसला लिनसक्नेछ ।
समाचार अनुसार उक्त बोर्डलाई फेसबुकका सामाग्रीहरु सम्पादन गर्ने कर्मचारी तथा सिइओ मार्क जुकरबर्गलगायतका कार्यकारी तहका अधिकारीहरुको निर्णयसमेत उल्टाउने अधिकार रहेको छ । उक्त बोर्ड २० सदस्यीय छ ।
आगामी नोभेम्बर ३ तारेखमा अमेरिकी राष्ट्रपतीय चुनाव हुने पूर्वसन्ध्यामा फेसबुकको निगरानी बोर्ड सक्रिय हुनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । उक्त बोर्डले गर्ने धेरै निर्णयहरु राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित हुने अनुमान गरिएको छ ।