
सप्तरी / सप्तरीमा एकै दिन फरार रहेका १५ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाएपछि फरार रहेका १५ जना दोषीहरुलाई सप्तरी प्रहरीले एकैदिन पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पक्राउ पर्नेमा दम्पति देखि ९८ वर्षीय वृद्धसम्म रहेको छन् । कुटपिट मुद्दामा कैद सुनाइएका ८ जना, कुटपिट अंगभंग मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग र कुटपिट, लुटपाट, जालसाजी, केही सार्वजनिक अपराध र लागूऔषध मुद्दाका एक र एक जना पक्राउ परेका हुन् ।
अदालतबाट फैसला सुनाइएका ४५ वर्षीय जुक्ति यादव, ६६ वर्षीय सुब्जी यादव, ४४ वर्षीय गुलाबलाल दास, शत्रुद्यन यादव, ९८ वर्षीय उत्तिम लाल यादव, ४५ वर्षीय शंकरकुमार यादव, ३५ वर्षीय लक्ष्मण यादव, ३० वर्षीय लक्ष्मी यादव कुटपिट मुद्धामा पक्राउ परेका हुन् ।
त्यस्तै कुटपिट अङ्गभङ्ग मुद्दामा सुबंश शाह र उनकी श्रीमती लिलावती शाह पक्राउ परेको प्रहरीले जनाकारी दिएको छ । त्यस्तै ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा ७५ वर्षीय झौली मुखिया, लुटपिट मुद्दामा ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्दामा ४१ वर्षीय बडेलाल यादव र जालसाजी मुद्दामा झबर यादवलाई पक्राउ परेको प्रहरीले बतायो ।
त्यस्तै, गत असारमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ मा फेला परेको लागूऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका ५ बस्ने ४५ वर्षीय ग्वाला मेहता भन्ने महेन्द्र मेहतालाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।