डोटी / डोटीको जोरायल गाउँपालिका–६ स्थित भागेश्वर सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वन क्षेत्रमा गस्ती गर्ने क्रममा आइतबार साँझ करिब ६ बजे एकनाले भरुवा बन्दुक फेला परेको हो।
प्रहरी निरीक्षक वीरबहादुर बोहराको कमाण्डमा नौ जनाको प्रहरी टोली जोरायल गाउँपालिका–६ अन्तर्गत खसरे, निरौली, गुनड, सिराडी र कथलतडी लगायतका क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण तथा स्थानीय अवस्थाबारे जानकारी लिन गस्तीमा खटिएको थियो। गस्तीबाट फर्किने क्रममा भागेश्वर सामुदायिक वनमा बन्दुक फेला परेपछि प्रहरीले बरामद गरेको जनाएको छ।
बन्दुक कसले र के प्रयोजनका लागि वन क्षेत्रमा राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।










