भदौ २९, सिलगढी / देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
देशका पहाडी क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र कर्णालीका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।
रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक आवागमनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।











