असार १४, सिलगढी
देशका अधिकांश भूभागमा मनसुनको प्रभाव विस्तार हुँदै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय छ। आगामी चारदेखि पाँच दिनभित्र कर्णाली र सुदूरपश्चिमसहित बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
त्यस्तै, कोशी प्रदेशको तराई, मधेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
साथै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।











