कञ्चनपुर /जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यसको असरले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।











