कञ्चनपुर /कञ्चनपुर मा नदीमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ भने बाजुरा मा अर्का एक बालक खोलाले बगाएर बेपत्ता भएका छन्।
प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित दोदा नदीमा नुहाउने क्रममा पुनर्वास–८ का १४ वर्षीय रोहित दौडे डुबेका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि पुनर्वास टाउन अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका १४ वर्षीय नवराज थापा बेपत्ता भएका छन्। साथीहरूसँग नुहाउने क्रममा खोलाले बगाएपछि उनी सम्पर्कविहीन भएका हुन्।
प्रहरीले स्थानीयवासीको सहयोगमा बेपत्ता बालकको खोजी कार्य जारी राखेको जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।











