कञ्चनपुर /कञ्चनपुरमा विवाह कार्यक्रममा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।
पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरमाथि गएराति करिब साढे १ बजेतिर आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार विवाहमा सहभागी भएका बेला झगडा हुँदा सायरमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा रहेका व्यक्तिहरूको परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ।











