मनमाेहन ठकुल्ला,
डाेटी, बैशाख ६ गते
डाेटीकाे दिपायल सिलगढी नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको पारिवारिक संवाद कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्न थालेको छ। यो कार्यक्रम नगरपालिका, युएनएफपिए र पिसविन नेपालको सहकार्यमा नगरपालिकाकाे वडा नम्बर १, ३ र ८ मा सञ्चालन हुँदै आएको छ।
आज (आइतबार ) कार्यक्रमअन्तर्गत एकै परिवारका ४–५ सदस्य—आमा, बुवा, सासू–ससुरा तथा छोरा–छोरी—लाई सहभागी गराई अन्तरपुस्तागत संवाद गराउने गरिएको हाे ।
परिवारभित्र सुमधुर सम्बन्ध स्थापना, शान्त वातावरण निर्माण, लैङ्गिक हिंसा न्यूनीकरण तथा आपसी समझदारी विकास गर्नु कार्यक्रमकाे मुख्य उद्देश्य रहेकाे संस्थाले जनाएको छ ।
साथै, सामाजिक हानिकारक अभ्यासहरूको पहिचान गर्दै तिनले लैङ्गिक हिंसामा पार्ने प्रभावबारे जानकारी गराइएकाे छ । कार्यक्रममा हिंसा प्रभावित व्यक्तिहरूले सहयोग लिन सक्ने निकायहरू जस्तै: वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर, सेफ हाउस, न्यायिक समिति तथा प्रहरी कार्यालयबारे पनि जानकारी गराइएकाे छ ।
हालै वडा नम्बर ३ को “खैरतोल टोल” मा सम्पन्न चारदिने कार्यक्रमपछि सहभागीहरूमा सकारात्मक परिवर्तन देखिएको छ। कार्यक्रममा सहभागी दुर्गा खड्काले भनिन्,” परिवारभित्र हुने हिंसाबारे पहिले सचेत नभएको तर अब सुमधुर सम्बन्ध कायम गर्न र हिंसाविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
त्यस्तै सहभागी हरि खड्का पनि भन्छिन्,” परिवारमा पुरुषले मात्र निर्णय गर्ने परम्परागत सोचमा परिवर्तन आएको बताउँदै अब सबै सदस्यको सहभागिता र सहमतिमा निर्णय हुनुपर्ने बुझाइ विकास भएको छ ।” खड्का थप्छन्,” घरायसी कामको बाँडफाँडले महिलालाई अन्य अवसरतर्फ अघि बढ्न सहयोग पुग्ने छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, नगर प्रमुख कलावती महर साउँद तथा वडा सदस्य गोरख साउँदलगायतको उपस्थिति रहेको थियो।
नगर प्रमुख साउँदले कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी दिनमा सबै वडामा विस्तार गरिने बताए । समन्वय समिति प्रमुख सिंहले यस्ता कार्यक्रमले सामाजिक विकृति अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सिंहले भने,” याे कार्यक्रम अन्य स्थानीय तहमा समेत विस्तार हुनुपर्छ।”
कार्यक्रमका सभाध्यक्ष गोरखबहादुर साउँदले नियमित सहभागिता र अनुगमनबाट आफूले पनि महत्वपूर्ण ज्ञान हासिल गरेको उल्लेख गर्दै सिकेका कुरा समुदायमा फैलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।











