कञ्चनपुर / कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक १ नम्बर गल्लीमा रहेको उदयदेव रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो।
उक्त स्थानमा चेकजाँच गर्ने क्रममा ५ जनालाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नगद ४७ हजार ७ सय रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि सोही दिन भीमदत्त नगरपालिका–१८ बाटै ७ जना जुवाडेलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।











