काठमाडौं /काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धानका लागि उनलाई आज बिहान सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। रिजाल जेन–जी आन्दोलनका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
आयोगको सिफारिसअनुसार यसअघि केपी शर्मा ओली र रमेश लेखक पनि पक्राउ परिसकेका छन्।रिजालमाथि कर्मचारीलाई अध्यागमन लगायतका आकर्षक कार्यालयमा सरुवा गर्दा पेशागत आचरणविपरीत काम गरेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा दर्ता गरेको विवरणअनुसार उनीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई समेत अनुसन्धानको दायरामा रहेका छन्।
हाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।











