सिलगढी/ देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लागेको अवस्था छ।
हाल कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा मध्यम खालको वर्षा र हिमपात भइरहेको छ। मौसमको यो बदलिँदो अवस्थाले दैनिक जनजीवनमा पनि असर पारेको छ।
आज दिउँसो देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ, विशेषगरी कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा यस्तो अवस्था देखिन सक्छ।
राति भने हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने मौसमविद्हरूले बताएका छन्।











