कैलाली /कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीको मिलेमतोमा तस्करी बढेको आरोप स्थानीयले लगाएका छन्। स्थानीयवासीका अनुसार प्रहरी चौकी त्रिनगरका कर्मचारीहरूले हप्ताउसुली गर्दै तस्करीलाई प्रोत्साहन गर्दै आएको दाबी गरेका छन्।
स्रोतअनुसार, भारतबाट साइकलमार्फत सामान ल्याउने धनगढी र अत्तरियाका महिलाहरू तथा भारतीय मालबाहक ट्रकका चालकहरूबाट दैनिक वा मासिक रूपमा रकम असुल्ने गरेको बताइन्छ। हप्ता नदिए सामान जफत गरेर कारबाहीका लागि भन्सारमा बुझाउने प्रचलन पनि रहेको छ।
स्थानीयले सशस्त्र प्रहरीमाथि पनि मिलेमतोको आरोप लगाएका छन्। चुनावको समयमा सीमा नाकाबाट सामानको ओसार–पसार विशेष गरी बढ्ने भएकाले स्थानीयमा असन्तुष्टिको अवस्था रहेको छ।
स्रोतका अनुसार, प्रहरी चौकी त्रिनगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रमेशबहादुर शाहीले माथिल्लो निकायलाई रकम बुझाउनुपर्ने भन्दै असुली गर्ने गरेको र यसका लागि आफ्ना विश्वासपात्र वरिष्ठ हवल्दार धर्म महरालाई खटाउने गरेको दाबी गरिएको छ।
असुली गर्ने रकम महिलाहरूबाट प्रतिव्यक्ति ५०० देखि २ हजार रुपैयाँसम्म लिइएको बताइन्छ। त्यस्तै, सो क्षेत्रमा अनैतिक गतिविधि गर्ने केही होटलहरूबाट समेत हप्ताउसुली हुने गरेको आरोप छ।
हालसम्मको चर्चा अनुसार, सई शाहीले असुली गरेको रकम प्रदेश प्रहरी कार्यालयसम्म बुझाउने गरेको छ। शाही पूर्वमा प्रदेशमै कार्यरत रहँदा डीआईजीको पावरमा त्रिनगर चौकी इन्चार्ज भएका थिए।
तर, सई शाहीले भने सीमा नाकामा कडाइ गरिएको र चोरी, तस्करी तथा असुलीका आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा आवश्यक छानबिन गरिने जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले आरोपबारे अनुसन्धान अगाडि बढाइने बताए।











