दार्चुला — दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताले विकास निर्माण र प्रशासनिक सुविधाको माग गर्दै मतदान प्रक्रिया पूर्ण रूपमा बहिष्कार गरेका छन्। मतदाताले ‘नो भोट’ अभियान चलाएपछि कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किनु परेको छ।
जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय, नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय, झुस्कु मतदान केन्द्रमा स्थानीयले मतदान नगरी बहिष्कार गरेका हुन्।
नौगाड गाउँपालिका–१ का स्थानीयले लामो समयदेखि सडक निर्माणको माग गर्दै आए पनि पटक–पटक आश्वासन मात्र पाइएपछि यसपटक मतदान नगर्ने निर्णय गरेका थिए। उक्त केन्द्रमा रहेका ६०२ जना मतदातामध्ये एक जनाले पनि मत खसालेनन्।
यस्तै, अपिहिमाल गाउँपालिका–३ का बासिन्दाले वडा कार्यालय अपायक स्थानमा रहेको भन्दै विरोध जनाएका छन्। उनीहरूले वडा कार्यालयलाई सबैलाई सहज हुने गरी वडा नम्बर ४ मा सार्नुपर्ने माग राखेका थिए। मागको सुनुवाइ नभएको भन्दै झुस्कुका करिब ३४६ मतदाताले पनि मतदान प्रक्रियामा भाग लिएनन्।
दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार दिनभर प्रतीक्षा गर्दा पनि दुवै मतदान केन्द्रमा एक मत पनि नखसेपछि मतदान अधिकृतसहितको टोली रित्तो मतपेटिका लिएर फर्किएको छ।
उनले जिल्लाभर कति मत खस्यो भन्ने यकिन विवरण सङ्कलन भइरहेको जानकारी दिए।
जिल्लामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र (साथै दुई अस्थायी केन्द्र) तोकिएकोमा यी दुई केन्द्रबाहेक अन्य स्थानमा भने मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। जिल्लाभरको मतदान विवरण केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।











