सिलगढी, माघ २९
डोटीमा घरमा विद्युत् वायरिङ गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ पोखरीस्थित दुर्गा सिंह कुडमालको तीनतले घरमा काम गरिरहेका सोही गाउँपालिका–१ लफडाका करिब ३० वर्षीय कलम धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बुधबार साँझ करिब ६:४० बजे घरको माथिल्लो तलामा वायरिङ गर्दै गर्दा सोही कोठामा राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो। बन्दुकको छर्रा बाँया कन्चटमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओसहितको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र बन्दुक राखिएको अवस्थाबारे थप अनुसन्धान गरिरहेको छ।











