बैतडी/ बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्दा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र–०२ ००१ ख १११९ नम्बरको बस बिहीबार बेलुकी करिब ८ बजे पुर्चौँडी–७ स्थित बडगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूका अनुसार दुर्घटनामा एक महिला र सात पुरुष गरी आठ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ४५ जनाको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नजिकका स्वास्थ्य चौकी तथा अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार उकालो सडकमा अत्यधिक भारका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











