बैतडी /बैतडीको पाटन नगरपालिकामा विद्यालय भवन निर्माणसँग जोडिएको अनियमितताको आशंकामा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले पाटन नगरपालिकासँग सम्बन्धित उजुरीका आधारमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूलाई सात दिनभित्र उपस्थित भई बयान दिन निर्देशन दिएको हो।
आयोगका अनुसार नगरपालिकाका इन्जिनियर लगायतको संलग्नतामा विभिन्न विद्यालय भवन निर्माणमा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। सोही क्रममा सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन पत्राचार गरिएको हो।
बयानका लागि बोलाइएकामध्ये प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, लेखापाल भवानीप्रसाद भट्ट, इन्जिनियर मोहनदेव भट्ट, सब–इन्जिनियर दिनेश कुमार ऐर, उपप्रमुख कमलसिंह बोहरा, वडा नम्बर ३ का अध्यक्ष करुणाकर भट्ट, सिगास माध्यमिक विद्यालयका प्रधानाध्यापक धनीदत्त पन्त, व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाट तथा वडा सदस्यहरू दिपेन्द्रसिंह खत्री, भिमदत्त भट्ट, आरती विष्ट र भागरथी विक रहेका छन्।
वडा अध्यक्ष करुणाकर भट्टले आफूहरूलाई अख्तियारले बोलाएको जानकारी सामाजिक सञ्जालमार्फत थाहा पाएको बताउँदै तोकिएको समयभित्र बयानका लागि उपस्थित हुने बताए। उनले विद्यालय भवन निर्माणमा कुनै त्रुटि नरहेको दाबीसमेत गरेका छन्।
अख्तियारले सबैलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि र एक प्रति पासपोर्ट साइज फोटोसहित सात दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। माघ १८ गते काटिएको पत्रमा तोकिएको समयमा उपस्थित नहुनेलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
विद्यालय भवन निर्माणमा सार्वजनिक रकमको दुरुपयोग भएको आशंकामा अनुसन्धान जारी रहेको र आवश्यक परे थप कागजात तथा प्रमाण माग गरिने अख्तियार स्रोतले जनाएको छ।











