काठमाडौँ । बाँके क्षेत्र नं. ३ का उम्मेदवार खगेन्द्र सुनारको गाईसम्बन्धी अभिव्यक्तिलाई लिएर विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
रास्वपाले सुनारको उक्त भनाइले धार्मिक तथा सांस्कृतिक भावनामा चोट पुगेको स्वीकार गर्दै पार्टी प्रवेशअघि दिइएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गराइसकेको जनाएको छ। पार्टीका अनुसार सुनारले आफू शाकाहारी भएको, कुनै पनि प्रकारको हिंसाको समर्थन नगर्ने र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान राख्ने स्पष्ट पारेका छन्।
पार्टीले आगामी दिनमा सार्वजनिक अभिव्यक्ति दिँदा थप संयमता र जिम्मेवारी अपनाउन सुनारलाई सचेत गराइएको जनाएको छ। साथै, उनको भनाइ कुनै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने उद्देश्यले नभएको रास्वपाको दाबी छ।
रास्वपाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र विधिको शासनप्रति आफू दृढ रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै समाजमा द्वेष र उत्तेजना फैलाउने गतिविधिको विपक्षमा रहेको स्पष्ट पारेको छ।











