डोटी — डोटी जिल्लामा गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आदर्श गाउँपालिका–१ बाँझकी २३ वर्षीया मुना श्रीमाललाई सुत्केरी व्यथा लागेपछि उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहिवार बिहान करिब ७ बजे मुना श्रीमाललाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि सुजङ अस्पताल, राजपुर डोटी पुर्याइएको थियो। अस्पतालमा गरिएको उपचार तथा डेलिभरीका क्रममा बच्चा मृत अवस्थामा जन्मिएको र आमा बेहोस भई गम्भीर अवस्थामा पुगेकी थिइन्।
महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचार आवश्यक ठहर गरी राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत उद्धारको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा आज बिहान करिब १०:५५ बजे हेलिकोप्टरमार्फत उद्धार गरी मुना श्रीमाललाई कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत पठाइएको हो।
हाल उनको सुर्खेतमा थप उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











