सिलगढी — लामो समयदेखि वर्षा र हिमपात नहुँदा सुदुरपश्चिमका ९ वटै जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको हिउँदे बाली गहुँ र जौ सुक्न थालेका छन्। कात्तिक र मङ्सिर महिनामा छरिएका बाली पानीको अभावमा राम्रोसँग उम्रिन नसकेको र उम्रिएका बालीसमेत पहेँलो हुँदै सुक्न थालेको किसानहरूले बताएका छन्।
पानी नपर्दा हिउँदे बाली सुक्न थालेपछि किसान चिन्तामा डुबेका छन् । विभिन्न लेकाली भेग र ओैल क्षेत्रमा खडेरीकाे चपेटामा परेर हिउँदे बाली मर्दै गएकाे डाेटीका किसानकाे भनाइ छ ।
त्यस्तै बाजुरा बुढीगङ्गा नगरपालिका, स्वामिकार्तिक, त्रिवेणी, गौमुल, बडिमालिका र खप्तड छेडेदह क्षेत्रका धेरै ठाउँमा हिउँदे बालीमा खडेरीको प्रत्यक्ष असर देखिएको छ। किसानहरू पुस र माघमा वर्षा वा हिमपात हुने आशामा खेती गरे पनि हालसम्म पानी नपर्दा उत्पादन घट्ने चिन्ता बढेको छ।
स्थानीय किसानका अनुसार लामो समयसम्म खडेरी कायम रहे बर्खायाममा खाद्य संकटसमेत उत्पन्न हुन सक्छ। सिँचाइको सुविधा सीमित भएकाले अधिकांश किसान अझै आकाशे पानीमै निर्भर छन्। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको ठूलो खेतीयोग्य क्षेत्र अझै सिँचाइको पहुँच बाहिर रहेको छ, जसले खडेरीको असर झनै गम्भीर बनाएको छ।
कृषि विज्ञहरूले उत्पादन जोगाउन सिँचाइ पूर्वाधार विस्तार र खडेरी प्रतिरोधी कृषि अभ्यास अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सुदुरपश्चिमका अधिकांश क्षेत्रमा सिँचाइकाे अभावका कारण किसानले बर्षाै देखि यहीँ समस्या भाेगीरहेका छन् ।











