बाजुरा — जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–३ का दुर्गम बस्तीहरू अझै पनि सञ्चार सेवाको पहुँच बाहिर छन्। जिल्लाका अधिकांश गाउँबस्तीमा फोरजी इन्टरनेटसहितको सेवा उपलब्ध भए पनि बौडी, विच्छ्या र गुम्बा बस्तीका स्थानीय भने टेलिफोन र इन्टरनेट सुविधाबाट वञ्चित हुँदै आएका छन्।
डिजिटल प्रविधिमा आधारित सेवा विस्तार भइरहेका बेला यी बस्तीका नागरिकका लागि अनलाइन सेवा अझै पनि पहुँचबाहिर रहेको स्थानीय बताउँछन्। सरकारी सेवा–सुविधा अनलाइनमार्फत सञ्चालन भइरहँदा सञ्चार अभावले दैनिकी झनै कठिन बनेको छ।
हिमाली गाउँपालिका–३ का स्थानीय जसबहादुर भण्डारीका अनुसार गाउँमा न टेलिफोन छ, न सडक, न विद्युत् नै। “देश परिवर्तन भइरहेको सुनिन्छ, तर हाम्रो अवस्था उस्तै छ,” उहाँले भन्नुभयो, “अहिले पनि झरो र टुकीको भरमा रात बिताउनुपर्छ।”
सञ्चार सेवा विस्तारका लागि गाउँपालिकाले विभिन्न निकायसँग पहल गर्दै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल टेलिकमसँग पटक–पटक समन्वय गरिए पनि भौगोलिक कठिनाइ र विद्युत् अभावका कारण टेलिकम टावर सञ्चालन गर्न समस्या भइरहेको छ।
गत वर्ष साउनमा आएको बाढीले विद्युत् संरचना पूर्ण रूपमा क्षति पुर्याएपछि हाल टावरमा विद्युत् जडान गर्न नसकिने अवस्था रहेको अध्यक्ष मल्लले बताए।
नेपाल टेलिकम जिल्ला शाखा बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार स्थायी र गुणस्तरीय नेटवर्कका लागि फाइबर आवश्यक पर्छ, जुन हाल मार्तडीभन्दा माथिल्लो क्षेत्रमा विस्तार गरिएको छैन। “नेटवर्क अवस्थाको मूल्याङ्कनपछि आवश्यक स्थानमा लाइन विस्तार गरिनेछ,” उहाँले बताउनुभयो।
सञ्चार, सडक र विद्युत् जस्ता आधारभूत पूर्वाधारको अभावले हिमाली गाउँपालिका–३ का दुर्गम बस्तीका नागरिक अझै पनि विकासको मूलधारबाट टाढा रहन बाध्य छन्।











