डोटी, पुस १ गते
डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीस्थित दिपायल–सहजपुर सडकखण्डमा स्काईभेटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा स्काईभेटरका सहचालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी निवासी अन्दाजी २२/२३ वर्षका अजित चौधरी रहेकाे डाेटी प्रहरीले जनाएको छ । घाइते चाैभरीकाे टाउकाे, दुवै खुट्टा तथा ढाडमा गम्भीर चोट लागेको छ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि सुजङ अस्पताल, राजपुर डोटी पठाइएको जनाएको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज( मंगलबार ) साँझ करिब ६: २० बजेको समयमा सडक ट्र्याक खोल्ने काम गरिरहेको स्काईभेटर सडक भासिँदा करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा लामिगडा निर्माण सेवा कम्पनीको बा २ क ७२८३ नम्बरको स्काईभेटर परेकाे हाे । चालक कैलालीको टिकापुर नगरपालिका–८ निवासी अन्दाजी २५/२६ वर्षका ईश्वर कुमार चौधरी सकुशल रहेका छन्।











