काठमाडौँ — काठमाण्डू गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर–२ मा उक्लिएको छ।
११२ रनको साधारण लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा आवश्यक रन पुरा गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
लुम्बिनीका ओपनर डार्सी शर्टले ३३ रन जोड्दै टोलीलाई सानदार सुरुआत दिलाए। सन्दीप जोरा २३, कप्तान रोहित पोडेल १८ तथा निरोसन डिक्वेला १४ रनको योगदानसहित जीत सहज बनेको थियो।
बलिङतर्फ काठमाण्डूका सन्तोष यादवले २ विकेट लिँदा रासिद खान, कप्तान करण केसी, साहब आलम र सन्नी पटेलले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको काठमाण्डूले १९.१ ओभरमै सबै विकेट गुमाई १११ रनमा सिमितियो।
पावरप्लेमा नै ५ विकेट गुमाएर २९ रन मात्र बनाउन सकेपछि काठमाण्डू दबाबमा परेको थियो। टोलीका सन्तोष यादवले २३ रन बनाए भने मोहम्मद आदिल आलम र जोन सिम्सनले १८–१८ रन जोडे। भिम सार्कीले १४ तथा कप्तान करण केसीले ९ रनको योगदान दिए।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले आक्रमक बलिङ गर्दै समान ३–३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २ र अभिषेक गौतमले १ विकेट हात पारे।
जितसँगै लुम्बिनी अब फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँग बिहीबार भिड्ने छ। विराटनगर मंगलबार पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि दोस्रो मौका पाएकाे हो।











