कञ्चनपुर, मंसिर १७ महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा हराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रनाउपु सागर बोहराले जानकारी दिए।
प्रवक्ता बोहराका अनुसार सनि दमाई महाकाली घाटमा मलामी गइ चिता बनाउने क्रममा चिप्लिएर नदीमा खसेको प्रारम्भिक जानकारी आएको छ। घटना पछि नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेको उनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
नौ दिनअघिको बेपत्ता युवकको शव फेला
यसैबीच, नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव आज फेला परेको छ।
भुजेला क्षेत्रबाट नुहाउने क्रममा हराएका रोशन दमाई दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब २०० मिटर दक्षिण नदी किनारमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।
शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।











