कञ्चनपुर, मंसिर १७ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा एकैपटक १३९ रुख अवैध रूपमा काटेर गायब पारिएको खुलेको छ।
मंसिर ११ गते दिउँसो २ देखि ४ बजे बीच खयर ११६, सिसम २२ र कन्जुग १ गरि कुल १३९ रुख काटिएको सबडिभिजन वन कार्यालय पिपरैयाले जनाएको छ।
वन कार्यालयका प्रमुख मनिदत्त भट्टका अनुसार वडा कार्यालय नजिकैको करिब १० बिघा क्षेत्रबाट रुख काटिए पनि जनप्रतिनिधिले वास्ता नगरेको आरोप छ।
उक्त घटनामा ६०–७० जनाको स्थानीय समूह संलग्न रहेको प्रारम्भिक बुझाइ आएको छ। उनीहरूले कोरियाली संस्थाको सहयोगमा बन्ने प्राविधिक कलेजका लागि रुख काटिएको बताएको वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार कलेजका लागि चाहिने पाँच बिघा जमिन भने सो क्षेत्रभन्दा अलग स्थानमा रहेको र अहिले घटना सम्बन्धी प्रतिवेदन तयार भइरहेको बताए।
घटनाबारे नगरप्रमुख हेमराज ओझा र वडा नं. ७ का अध्यक्ष घुम्मन राना बाट वन कार्यालयले सोधपुछ थालिसकेको छ। उनीहरूले भने घटनाबारे आफूलाई पूर्वजानकारी नभएको दाबी गरेका छन्।
घटनाको विस्तृत छानबिनका लागि सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साह लाई अनुसन्धान अधिकृतका रूपमा खटाइएको छ। साहले प्रारम्भिक जानकारी नभएको भन्दै अनुसन्धानपछि तथ्य बाहिर आउने बताए।











