बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा आज दिउँसो भएको भीषण आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ। दिउँसो १२:३० बजेतिर सुरु भएको आगो सुरक्षा निकाय र स्थानीयबासीको संयुक्त प्रयासपछि दिउँसो २ बजेर केही मिनेटमा नियन्त्रणमा ल्याइएको हो।
आगलागी बडीमालिका–८ का व्यवसायी प्रकाश थापाले सञ्चालन गर्दै आएका न्यू सागर फर्निचर उद्योग तथा ग्यारेजबाट सुरु भएको थियो। काम भइरहेको बेलामा एक्कासी विद्युत् तार सर्ट भएर आगो भडकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पसलभित्र ग्यास सिलिन्डर पनि हुनसक्ने आशंकाले स्थानीयले सुरुमा नजिक जान सकेनन्। पानीको अभावका कारण आगो थप फैलन नदिन कठिनाइ भए पनि पछि ठूलो संख्यामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पानी प्रयोग गर्दै आगो नियन्त्रण गरेका हुन्।
फर्निचर उद्योगमा रहेका काठका सामग्री र ग्यारेजका सामानका कारण आगो तीव्ररूपले फैलिएको थियो। ग्यारेजमा रहेको फलाम बाहेक लगभग सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यसबीच, मार्तडी, बाम्का, कोल्टीलगायतका बजार क्षेत्रमा आगलागीका घटना दोहोरिइरहे पनि जिल्लामा दमकल अभाव हुँदा प्रत्येक घटनामा ठूलो क्षति सहनु परेको स्थानीयले गुनासो गरेका छन्।











