कञ्चनपुर, मंसिर १६ ।
वेदकोट नगरपालिका–५ की २७ वर्षीया धना (नाम परिवर्तन) दुई वर्षयता एचआइभीको औषधि नियमित रूपमा सेवन गर्छिन्। तर औषधिले जोगाइरहे पनि समाजबाट पाउने तिरस्कार भने दिनहुँ झेल्नुपर्ने बाध्यता उनले सुनाइन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको एचआइभी/एड्ससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले छिमेकीले पानी लिन आउँदा समेत कच्याक्क हेपेर बोल्ने गरेको दुखेसो राखिन्। घरमा धारासमेत नलागेकाले छिमेकीकहाँ पानी लिन जाँदा पनि अपमान सहनुपरेको उनको गुनासो थियो।
दुई वर्षअघि श्रीमानसँगै उनीमा एचआइभी पुष्टि भएको थियो। तीन वर्षीय छोरासमेत सङ्क्रमित भएको छ, र सबैले नियमित औषधि सेवन गरिरहेका छन्। “हिँडेका ठाउँ–ठाउँमा हेपाहो व्यवहार सहनै नसक्ने,” भन्दै उनले दुःखद अनुभव सुनाइन्। मानसिक पीडाले सताउदा दुई–तीन पटक आत्महत्या गर्न पनि सोचेकै तर छोराका कारण आफू रोकिएको उनी बताउँछिन्।
भीमदत्त–१५ का ३८ वर्षीय रमा (नाम परिवर्तन) भने लगभग दुई दशकदेखि आरआइटी सेवन गर्दै आएका एचआइभी सङ्क्रमित हुन्। अहिले उनी स्वयं जस्तै अन्य सङ्क्रमितका हकहितमा काम गर्छन्। उनका अनुसार, “समाजले महिला सङ्क्रमितलाई झन् कडा नजरले हेर्छ।” नियमित औषधि सेवन र सरकारी सहायतामा सहजता दिलाउन आफूहरूले निरन्तर मेहेनत गरिरहेको उनले बताए।
स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म ६८२ जनामा एचआइभी पुष्टि भएको छ। तीमध्ये ४५५ जना निरन्तर उपचारमा छन्। नियमित औषधि सेवन गर्नेहरूमा २२६ महिला, २०२ पुरुष, २० जना १५ वर्षमुनिका बालबालिका र सात जना यौनिक अल्पसंख्यक समूहका व्यक्तिहरू छन्। १८ वर्षमुनिका सङ्क्रमित बालबालिकालाई सरकारले शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक एक हजार रूपैयाँ प्रदान गर्दै आएको छ।
गत आर्थिक वर्षमा मात्रै जिल्लामा १४ जनाको मृत्यु एचआइभीका कारण भएको स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रसिंह रावलले जानकारी दिए।
अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोराले दाम्पत्यबीचको सुरक्षित यौनसम्बन्धलाई शंका गर्ने प्रवृत्ति गलत भएको बताए। हाल अनौपचारिक तथा अवैध यौनसम्पर्कका कारण सामाजिक मूल्यमा नै चोट पर्ने अवस्था देखिएको भन्दै उनले सचेतना बढाउन सबै पक्ष जुट्नुपर्नेमा जोड दिए।











