बाजुरा/ बाजुराको हिमाली गाउँपालिका–१ स्थित बिच्छ्या बस्तीका स्थानीयवासी बाढीपहिरोको जोखिमका बीच वर्षौंदेखि स्थानान्तरणको प्रतिक्षामा बसेका छन्। गत साउन २८ मा बिच्छ्याखोलामा आएको बाढी सीधै बस्तीमा पसेपछि धेरै परिवार विस्थापित भएका थिए।
बाढीका कारण करिब दर्जनभन्दा बढी घरसहित स्वास्थ्य चौकि, वडा कार्यालय, बिच्छ्या मावि लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। बिच्छ्याका सब्बा ले थापाका अनुसार भत्किएका घर मात्र होइन, बाँकी संरचनासमेत उच्च जोखिममा भएकाले यथास्थानमा बस्ने अवस्था नै छैन।
थापाले भने, “यहाँ पुनः बसोबास गर्दा फेरि बाढीले पुरिने डर छ। त्यसैले सम्पूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सार्नु अत्यावश्यक छ।” उनका अनुसार स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्म बस्ती सार्न अनुरोध गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
बस्ती सुरक्षित स्थानमा सार्न नसकिँदा स्थानीयहरू जोखिमयुक्त घरमै बस्न बाध्य छन्। वर्षातमा उनीहरू त्रिपालमा बसे पनि हिउँद सुरु भएपछि फेरि पुरानै बस्तीमा फर्किनुपरेको छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार बाढीले मानव क्षति भने गरेको छैन, तर विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत सार्वजनिक संरचनामा ठूलो आर्थिक नोक्सानी भएको छ। मल्लले भने, “बर्खाका बेला स्थानीयको उठिबास भएको थियो। तत्कालीन रूपमा खाद्यान्न, लत्ता–कपडा र त्रिपाल उपलब्ध गराएका थियौं।”
तर चिसो मौसम सुरु भइसकेको र बिच्छ्या क्षेत्रमा हिउँदमा कठ्यांग्रिने चिसो हुने भएकाले पीडितलाई सुरक्षित स्थानमा सार्न अत्यावश्यक रहेको अध्यक्ष मल्लको भनाइ छ।
यसै बीच, गाउँपालिकाले तयार पारेको बस्ती स्थानान्तरण सम्बन्धी पत्र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार प्राधिकरणबाट विज्ञ टोली आएर बस्ती स्थानान्तरणका विकल्प, उपयुक्त स्थान तथा जग्गाको मूल्यांकन गरेर निर्णय गरिनेछ।











