कञ्चनपुर /कञ्चनपुर जिल्लामा यात्रुहरूसँग चार गुणासम्म बढी भाडा असुल्दै आएका करिब दुई दर्जन अटो व्यवसायीहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा भारतबाट मजदुरी गरेर स्वदेश फर्किने यात्रुहरूमाथि मनपरी भाडा असुल्ने अटो व्यवसायीहरूलाई अस्थायी ट्राफिक प्रहरी पोस्ट र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामदत्त भट्टका अनुसार, मंगलबार बिहानदेखि टोलीले चर्को भाडा असुल्ने अटो व्यवसायीहरूको निगरानी सुरु गरेको थियो।
भट्टका अनुसार, यात्रुहरूबाट सोधपुछ गर्दा गड्डाचौकी–महेन्द्रनगर मार्गमा एक यात्रुबाट ५० रुपैयाँ मात्र लिनुपर्नेमा तीन सयदेखि पाँच सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको हो।
त्यसैगरी, केही अटो व्यवसायीहरूले गड्डाचौकीदेखि कैलालीको अत्तरियासम्म (करिब ६० किलोमिटर दूरी) यात्रु बोक्दै २,३०० रुपैयाँसम्म भाडा असुलेको पाइएको छ। मंगलबारै तीन जना यात्रु बोकेर अत्तरिया जाँदै गरेको अटो चालकलाई प्रहरीले १५ सय रुपैयाँ जरिवाना समेत गरेको जनाएको छ।
प्रहरीका अनुसार, अटोले लामो दूरीमा यात्रु ओसारपसार गर्न नपाउने नियम छ। महेन्द्रनगर–अत्तरिया मार्गमा बस र हाइसले १ सय ५० रुपैयाँ भाडा लिने गरे पनि अटो व्यवसायीहरूले मनपरी भाडा असुल्ने गरेको पाइएको हो।
भट्टले कात्तिक १२ गतेदेखि गड्डाचौकी क्षेत्रमा ड्युटी शुरु गरेयता यात्रुहरूको समस्या बुझ्दै मनपरी भाडा असुल्ने अटो व्यवसायीहरूको पहिचान र नियन्त्रणमा ध्यान दिँदै आएको बताउनुभयो।
“भारत भएर स्वदेश फर्किने यात्रुहरूमाथि यहाँका अटो व्यवसायीहरूले चर्को भाडा असुल्दै आएका रहेछन्,” उहाँले भन्नुभयो, “अबदेखि तोकिएको भाडा कायम गराउन ट्राफिक प्रहरी निरन्तर खटिनेछ।”
इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज वरिष्ठ सई सुरेन्द्र चन्दले पनि यात्रुका झोला वा सामान बोक्ने बहानामा तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभयो।
प्रहरीले पहिलो चरणमा सामान्य जरिवाना गरेर चेतावनी दिइएको, र दोहोर्याएमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।











