डोटी, २२ कात्तिक
डोटीको दिपायल सिलगढी नगरपालिका–१ ढार्चुमा १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ५२ वर्षीय ओमप्रकाश चन्दलाई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कात्तिक २२ गते ( शनिबार ) बिहान करिब ८ बजे ओमप्रकाशले ढाडखोला नजिकैको कुरीको झाडीमा नाबालिकामाथि जबरजस्ती गरेको आरोप लागेको छ। सो घटनाबारे पीडित बालिकाको आमाले दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दिपायलमा उजुरी दिएकी थिइन्।
उजुरी प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा पाँच जना प्रहरी टोली खटिएको र आरोपीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हाल घटनामा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











