सिलगढी ,
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदै गरेको सूर्यदेवलाई पूजा गरी अघ्र्य अर्पण गरिँदैछ। बिहानै नुहाइधुवाइ गरी निर्जल रहँदै व्रत बसेका श्रद्धालु आज बेलुकादेखि सूर्य उपासनाको विशेष विधिमा सहभागी हुँदैछन्।
चार दिनसम्म मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ। शनिबारदेखि सुरु भएको पर्वमा भक्तजनले चोखो खानपान, व्रत, नदी तथा पोखरी किनारमा पूजा–आराधनासहित सूर्यदेवको स्तुति गर्दै आएका छन्।
महाभारतका अनुसार अज्ञातवासको समयमा द्रौपदी र पाँच पाण्डवले सूर्यदेवको आराधना गरी सफल गुप्तवासको कामना गरेका थिए। त्यही समयदेखि छठ व्रतको परम्परा सुरु भएको जनविश्वास छ।
सूर्य पुराणमा समेत ऋषि अत्रिकी पत्नी अनुसूया (अनुसूर्याले) पहिलोपटक यो व्रत गरेको उल्लेख पाइन्छ, जसबाट उनले सौभाग्य र पतिप्रेमको कृपा प्राप्त गरेकी थिइन्।
साम्व पुराणमा कृष्णपुत्र साम्बले कुष्ठरोगमोचनका लागि सूर्यदेवको उपासना गरेको प्रसंग पनि जोडिएको छ। जनविश्वासअनुसार छठ व्रत गरे दुःख, दरिद्रता तथा रोगबाट मुक्ति मिल्छ।
संसारको जीवनचक्र, वनस्पति, जीवजन्तुदेखि ऊर्जा र स्वास्थ्यसम्म सूर्यकै शक्तिमा आधारित छन्। सूर्य किरणको चिकित्सा, रोग निवारण तथा आरोग्यका अनेक उदाहरण प्राचीन ग्रन्थदेखि आधुनिक चिकित्सा अध्ययनसम्म पाइन्छ।
चतुर्थी (पहिलो दिन) स्नानसहित चोखो भोजन (अरुवा खाना) गरी व्रतको सुरुवात। पञ्चमी (खरना) बिहान निर्जल बसेर साँझ सखर मिसाइएको खीर (खरना) षष्ठी मातालाई चढाइन्छ र प्रसाद ग्रहण गरिन्छ। यस दिनदेखि पूर्ण निराहार व्रत सुरु हुन्छ। षष्ठी (आज) : दिनभर पानीसमेत नखाई बस्ने र बेलुकी अस्ताउँदो सूर्यलाई नदी, तलाऊ वा पोखरीको छेउमा उभिएर अघ्र्य अर्पण गर्ने परम्परा। सप्तमी (भोलि बिहान) रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई व्रत समापन गरिन्छ।
तराई क्षेत्रमा मात्र सीमित यो पर्व विसं २०४६ पछिदेखि राष्ट्रिय चाडका रूपमा स्थापित हुँदै आएको छ। अहिले फेरि सरकारले छठ पर्वमा सार्वजनिक बिदा दिन थालेको छ।
छठ व्रत बस्न नसक्नेहरूले वर्तालुको हातबाट मनोकामना पूरा होस् भनेर प्रार्थना गर्ने प्रचलन पनि छ। आर्थिक अभाव भए पनि भिक्षाको सहारामा व्रत गर्ने चलन अझै विद्यमान छ, जसले यो पर्वलाई आस्था, समर्पण र पवित्रताको प्रतीक बनाएको छ।











