डोटी — डोटीको दिपायल सिलगढी नगरपालिका–५ पेट्रोल पम्प नजिक के.आई. सिंह राजमार्गको बाँया किनारमा एक जंगली भालु मृत अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बिहिवार राति करिब २२:०५ बजे भालु मृत अवस्थामा रहेको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक रामचन्द्र जोशीको कमाण्डमा ६ जना प्रहरी र डिभिजन वन कार्यालय डोटीका डिएफओ गोकुल रिजालको नेतृत्वमा ४ जना सहितको संयुक्त टोली खटिएको थियो।
संयुक्त टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ। भालुको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने डिभिजन वन कार्यालय डोटीले जनाएको छ।











