
डोटी — डोटी जिल्लामा अरिङ्गालले टोकेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। शिखर नगरपालिका–२ मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको बुधबार बिहान निधन भएको हो।
गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालको झुन्डले टाउको, हात र घाँटीमा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्। सुरुवाती चरणमा उनको स्वास्थ्य अवस्था बारे परिवारलाई ढिलो जानकारी भएपछि उपचारमा ढिलाइ भएको बताइएको छ।
असोज १८ गते आमा मुनुली विकले छोरीलाई राजपुरस्थित महाकाली मेडिकलमा पुर्याएकी थिइन्। त्यहाँ रगतको अभाव देखिएपछि उनलाई सोही दिन जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको थियो। जिल्ला अस्पतालका प्रमुख डा. सुजित मण्डलका अनुसार पार्कीको शरीरमा रगतको कमीका साथै मिर्गौलामा पनि समस्या देखिएको थियो।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो। अस्पतालका अनुसार बुधबार बिहान करिब ४:५० बजे उपचारकै क्रममा पार्कीको निधन भएको हो।
मृतक पार्कीका श्रीमान् र दुई वर्षका एक छोरा रहेका छन्।