
सिलगढी । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न भागमा आज आंशिकदेखि साधारणतया बदली रहनेछ ।
आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी अन्य प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि मनसुनी प्रभाव जारी रहने महाशाखाको पूर्वानुमान छ । राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । विशेषगरी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने उल्लेख छ ।
महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा यात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर मात्र निस्कन आग्रह गरेको छ ।