सिलगढी – देशभर मनसुनी वायूको प्रभाव न्यून रहे पनि स्थानीय वायूको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली मात्र रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी र मधेस प्रदेशसँगै देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने विभागले जानकारी दिएको छ।











