सिलगढी/भारतको उत्तराखण्ड, टेहरीगढवालबाट घर फर्कंदै गरेका यात्रु बिहीबार पूर्व–पश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित अर्जुनी क्षेत्रमा लुटिएका छन्।
कालिकोटको पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई तीन जना अपरिचित व्यक्तिले स्कुटरमा आएर खुकुरी देखाउँदै मोबाइल र करिब १४ हजार भारु लुटेको पीडितले बताएका छन्।
“सवारी साधन नपाएर महेन्द्रनगरबाट पैदल हिँड्दै थियौँ। स्कुटरमा आएका तीन जनाले खुकुरी देखाएर मोबाइल र पैसा खोसे,” कलमबहादुरले बताए। उनका अनुसार लुटपाटपछि नजिकै अर्को मोटरसाइकल आउन थालेपछि लुटेरा भागेका थिए।
त्यतिबेला उनीहरू पाँच जना यात्रु थिए। तर, दुई जना मात्र लुटिन पुगे भने अन्य तीन जना सुरक्षित रहन सके। मजदुरीका लागि दुई महिनाअघि भारत गएका उनीहरू कामको अभाव र विपत्तिका कारण फर्कंदै गर्दा बाटोमै लुटिएका हुन्।
लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी दिइएको छ। प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी भइरहेको छ।











