बाजुरा । जिल्लाका अधिकांश स्थानीय अझै पनि काठेपुलको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ठूला खोलामा झोलुङ्गे पुल बनेर आवतजावत सहज भए पनि साना खोलामा पक्की पुलको अभावले वर्खाको समयमा समस्या बढेको स्थानीयले बताएका छन्।
खप्तड छेडेदह गाउँपालिका–३ का जकन विकका अनुसार सडकको बिचमा पर्ने खोलामा पक्की पुल नहुँदा वर्षातमा राखिएका काठेपुलबाट जोखिम मोल्दै पैदल र सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ। “स्थानीय तहले केही रकम उपलब्ध गराउँछ, त्यसैमा गाउँलेहरूले काठेपुल बनाउँछन्,” विकले बताए।
पुडाबाउला–डोगडी सडकखण्डमा धेरै खोलाहरू छन्। हिउँदमा त्यहाँ सवारीसाधन सहजै गुड्ने गरे पनि वर्षामा पक्की पुल नहुँदा आवतजावतमा कठिनाइ हुने खप्तड छेडेदह–२ का वडाध्यक्ष बीरबहादुर रावतले बताए। उनका अनुसार सडक डिभिजन कार्यालय अछामलाई जानकारी दिइएको र यस वर्ष केही खोलामा सर्भे गरेर पुल निर्माणको तयारी भइरहेको छ।
हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका गाउँपालिकामा पनि खोलामा पक्की पुल नहुँदा वर्षातमा स्थानीयलाई आवतजावतमा कठिनाइ हुने गरेको छ।
सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी सुवाष साहका अनुसार ग्रामीण क्षेत्रमा पुल बनाउन बजेटको व्यवस्था छैन। “हामीले राजमार्गमा मात्र काम गर्छौं, स्थानीय खोलामा बजेट आउँदैन,” उनले स्पष्ट पारे।











