सिलगढी /जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सामान्य भन्दा दक्षिणतर्फ सरिरहेको जनाउँदै बुधबार दिउँसो देशभर सामान्य बदली रहने जानकारी दिएको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका धेरै भागसहित तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ। त्यस्तै, आज राति कोशी र मधेस प्रदेशसँगै देशका पहाडी क्षेत्रमा सामान्य बदली रहने र अन्य भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने कोशी, तराई र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा भारी वर्षा पर्ने सम्भावना पनि रहेको छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्न सक्ने चेतावनी दिंदै यातायात अवरुद्ध हुनसक्ने भएकाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।











