कञ्चनपुर — बेलडाँडीकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा पक्राउ परेका उनका श्रीमान् पवन भट्ट पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत कञ्चनपुरमा बिहीवार सम्पन्न थुनछेक बहसपछि पवनलाई कारागार पठाउने आदेश भएको हो।
यसै मुद्दामा संलग्न देखिएका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई जनही एक–एक लाख धरौटीमा छोड्ने आदेश भएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा रिहा गरिएको अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले जानकारी दिए।
न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले दिएको आदेशअनुसार तीन जना रिहा भए पनि पवनलाई भने पुर्पक्षका लागि जेल चलान गरिएको हो।
गत साउन १८ गते बिहान आफ्नै घरमा सम्झना भट्ट मृत फेला परेकी थिइन्। घटनापछि माइती पक्षले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका थिए।











