
मुगु/ सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।
वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निकुञ्ज स्थापना गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि सो क्षेत्र डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको थियो। तर कार्मारोङबाट त्यहाँ पुग्न सात दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले स्थानीयलाई सेवासुविधा लिन कठिन भइरहेको थियो।
स्थानीयको लामो समयको मागपछि वनमन्त्री ऐनबहादुर शाहीको पहलमा नयाँ निकुञ्ज स्थापना भएको हो।
यससँगै मुगुका बासिन्दाले प्रशासनिक र निकुञ्जसम्बन्धी सेवा नजिकैबाट पाउने अपेक्षा गरिएको छ।
नयाँ निर्णयसँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ।
हाल रहेका राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, बाँके, खप्तड, लाङटाङ, पर्सा, शिवपुरी–नागार्जुन, सगरमाथा, मकालु–बरुण, शे–फोक्सुन्डो, रारा र शुक्लाफाँटा रहेका छन्।