सिलगढी – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय छ । साथै, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ ।
महाशाखाले दिएको जानकारीअनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । यसैबीच बागमती र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहने र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तै, बागमती र कर्णालीका पहाडी क्षेत्रमा केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ । मधेस, कोशी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको खतरा पनि देखिएको छ ।
आज राति मधेस र कोशी प्रदेशलगायत पहाडी क्षेत्र सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने र गण्डकीका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
महाशाखाले बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा हुने भारी वर्षाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, पछिल्ला मौसमी सूचनामा ध्यान दिन पनि विभागले आग्रह गरेको छ ।











