कैलाली । थारू समुदायको महत्वपूर्ण पर्व अटवारी नजिकिँदै गर्दा पश्चिम तराईका गाउँबस्तीमा चहलपहल बढेको छ। श्रीकृष्ण जन्माष्टमीपछि दोश्रो आइतबार मनाइने यो पर्वका लागि आवश्यक सामग्री संकलन सुरु भएको हो।
पर्वमा विशेष गरी अनदी धानको चामल प्रयोग हुने भएकाले गाउँलेहरू टाढाटाढासम्म पुगेर खाद्यान्न खोज्ने वा साटासाट गर्ने परम्परा रहिआएको छ। यसै क्रममा घर–आँगन सरसफाइदेखि दुना–टपरी बनाउन र सामूहिक छलफलमार्फत जिम्मेवारी बाँडफाँड गर्न थारू परिवार व्यस्त देखिन्छन्।
अघिल्लो दिन व्रतालुहरू आधा दिन निराहार बस्ने, नदी–पोखरीमा स्नान गर्ने र पूजा गर्ने चलन छ। त्यसपछि घरमा पकाइएका परिकार र फलफूलमध्ये केही अंश विवाहित छोरीलाई ‘अग्रासन’ अर्थात् कोसेली पठाएपछि मात्र दर खाने परम्परा छ।
दोस्रो दिन बिहानै स्नान गरेर गुइँठाको आगोमा ध्यू र सल्ला बालेर पूजा गरिन्छ। धार्मिक अनुष्ठान पूरा भएपछि मात्र परिवारले अनदीको चामलको भात, रोटी, सुकेको माछा, सिद्रा, फुलौरी लगायतका परिकार चाख्छन्।
इतिहास र जनश्रुतिअनुसार पाण्डव भीमले थारू राजा दङ्गीशरणलाई संकटमा सहयोग गरेको स्मरणमा यो पर्व मनाउने परम्परा सुरु भएको हो। अहिले यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङका थारू बस्तीहरूमा उत्साहसहित मनाइन्छ।











