दार्चुला — जिल्लामा पहिलो पटक डेंगु सङ्क्रमण पाइएको छ। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका बाँके कोहलपुरका ३९ वर्षीय पुरुषमा परीक्षण गर्दा डेंगु देखिएको अस्पतालले जनाएको छ।
सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा दार्चुलामा पहिलो पटक डेंगु पुष्टि भएको हो। उहाँले वर्षा र घाम हुने समयमा लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण बन्ने भएकाले विशेषगरी साउन, भदौ र असोज महिनामा संक्रमण फैलने सम्भावना बढी हुने जानकारी दिनुभयो।
डेंगु एडिस जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। प्रायः बिहान र बेलुका टोक्ने भएकाले घर वरिपरि पानी जम्न नदिनु, पुरै शरीर ढाक्ने कपडा लगाउनु र सुत्दा झुलको प्रयोग गर्नु प्रमुख बचाउका उपाय भएको अस्पतालले जनाएको छ।











