कञ्चनपुर,– नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा बुधबार सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको छ। मुटुमा समस्या देखिएपछि केही दिनदेखि उपचाररत भण्डारीको उपचारकै क्रममा निधन भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारी जनमानस साप्ताहिकका संस्थापक सम्पादक थिए। लामो समयदेखि पत्रकारितामा क्रियाशील रहँदै उनले सुदूरपश्चिम विशेषतः कञ्चनपुरको सञ्चार क्षेत्रमा अतुलनीय योगदान पुर्याएका थिए। उनका श्रीमती र दुई छोरा छन्।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले श्रद्धाञ्जली अर्पण गर्दै भने, “भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता एक निष्ठावान्, अनुभवी र कुशल नेतृत्वबाट बञ्चित भएको छ।”
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य नारायणप्रकाश साउदले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै भने, “भण्डारीको असामयिक निधनले सञ्चार र समाजसेवाले एक कुशल व्यक्तित्व गुमाएको छ। यो खबरले मलाई स्तब्ध र अत्यन्तै दुःखी बनाएको छ।”











