डडेल्धुरा — डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बडीका कृषकहरूले बाँझो जमिनलाई प्रयोगमा ल्याउँदै व्यावसायिक अनार खेती सुरु गरेका छन्। सात सय रोपनी क्षेत्रफलमा फैलिएको अनार खेतीबाट किसानले वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।
स्थानीय किसानहरूलाई संगठित गर्दै महादेव अनार खेती समूहले उक्त जमिन वार्षिक २० हजार भाडामा लिएर खेती थालेको हो। समूहका अध्यक्ष मदनराज पनेरुका अनुसार दस महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिसकेका छन्। बिरुवा रौतहटबाट मगाइएको बताइएको छ।
हालसम्म ६५ लाख रुपैयाँको संयुक्त लगानी भइसकेको उक्त आयोजनामा कृषि ज्ञान केन्द्र र किसान समूहको सहकार्य छ। यस वर्षदेखि केही अनार फल्न थालिसकेको अध्यक्ष पनेरुले जानकारी दिए।
स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन गरिएको अनार खेती परियोजना कृषि पर्यटनसँग जोड्ने योजनासमेत रहेको वडाध्यक्ष शिवराज भट्टले बताए। उनका अनुसार बृहत् अनार खेतीलाई पर्यटक आकर्षणका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार, सो क्षेत्र अनार खेतीका लागि अत्यन्त उपयुक्त भएकोले भविष्यमा यसलाई ‘अनार खेतीको जोन’का रूपमा विस्तार गर्ने योजना रहेको छ। उनका अनुसार अनार समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइसम्म फल्न सक्ने हुँदा डडेल्धुराको भू–वनोट यसका लागि अनुकूल छ।











