कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानमा पर्याप्त वर्षा नहुँदा असारमा रोपिएको धान सुक्न थालेको छ। लामो समयदेखि पानी नपरेपछि खेत सुक्खा बन्न थालेको र लगानी जोखिममा परेको भन्दै कृषक चिन्तित बनेका छन्।
शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी र वेदकोटका किसानहरू वर्षा अभावले धान खेती प्रभावित भएको गुनासो गर्छन्। शुक्लाफाँटा नगरपालिका–१० की कृषक कमला दमाईंले छ कट्ठामा रोपेको धानमा एक महिनासम्म पर्याप्त पानी नपर्दा बोट सुक्दै गएको दुःख व्यक्त गरिन्। “ट्याक्टर जोताइ, मलखादमा मात्रै नौ हजार खर्च भइसक्यो,” उनले भनिन्, “अब धान सुक्दै जाँदा सबै लगानी खेर जाने डर छ।”
त्यस्तै, सोही स्थानका भीम दमाईंले आठ कट्ठा खेतमा रोपेको धानमा गबारो देखिन थालेको जानकारी दिए।
शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरका अनुसार विशेषगरी उचाइ भएका खेतहरूमा पानी पर्न छाडेपछि धान सुक्न थालेको हो। “कृषकले रोपाइँ गरेपछि झरी रोकिएको छ, उँचो भागमा गबारोसमेत देखिन थालेको छ,” उनले भने।
जिल्लाका १० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा अझै पुगेको छैन। नहर पुगेका ठाउँहरूमा समेत पालो नपुग्दा किसानले धान बाली सुक्न थालेको बताइरहेका छन्।
महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार कञ्चनपुरमा केही दिन यता पर्याप्त वर्षा भएको छैन। “आगामी आइतवारसम्म झरी पर्ने सम्भावना छैन,” उनले जानकारी दिए, “सोमबारदेखि केही वर्षा हुने देखिएको छ।”
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार जिल्लामा कुल ५९ हजार ६०२ हेक्टर खेतीयोग्य जमिनमध्ये ४८ हजार ४९६ हेक्टरमा धान खेती हुँदै आएको छ।
सिँचाइ र वर्षाको भरमा धान खेती गरिरहेका किसानहरूको मेहनत वर्षा नपरेमा खेर जाने खतरा बढेको छ।











